बालुवाटारमा एमसीसीबारे निर्णय गर्न गठबन्धनका शीर्ष नेताहरु छलफलमा

357

काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) टेबल गर्नेलगायत विषयमा छलफलका लागि सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने विषयमा टुंगो नलागेपछि आज १० बजेका लागि बैठक बोलाइएको भए पनि केही ढिला गरी बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताहरु बैठकमा सहभागी छन् ।

एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबी एकमत हुन नसकेपछि पटक–पटक बसेको बैठक निष्कर्षविहीन भए पनि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन् ।

यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन । गत शुक्रबारको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस जसरी पनि पास गराउनुपर्ने पक्षमा रहेको छ । यथास्थितिमा एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ ।

सत्ता साझेदार दल एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ ।

जसपाले भने ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष उपेन्द्र यादव माओवादीलगायत दलहरुको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।

आजै प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा एमसीसी टेबल गराउनुपर्ने कांग्रेसको धारणा छ । आजको सम्भावित कार्यसूचिमा एमसीसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूति तय गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...