एमसीसीबारे भएका आलोचनामा कुनै सत्यता छैन : महत

276

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्‌बाट पारित गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे । नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा जोड दिए ।

डा.महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने,“एमसीसीमा हस्ताक्षर गर्दा माओवादी केन्द्र पनि सरकारमा थियो नि, पहिला हस्ताक्षर गर्ने माओवादी पनि हो । उहाँहरु पनि संलग्न हुनुहुन्थ्यो । त्यसैले सबै दलको सहमतिमा यो पारित नै होस् भन्ने मेरो इच्छा हो । एमाले पनि एमसीसीको पक्षमा नै छ ।”

उनले कम आय भएका मुलुकहरुलाई सहयोग गर्नका लागि अमेरिकाले एमसीसी स्थापना गरेको स्पष्ट पारे । एमसीसी दुई देशबीच भएकाले सम्झौता सोहीअनुसार कार्यान्वयन हुने पनि उनले विश्वास दिलाए । “यो संसद्ले पनि अनुमोदन गर्ने भनिएको छ । सम्झौता हुँदा यो सन् २०१९ भित्रै संसद्ले अनुमोदन गर्छौँ भनेर नेपालले भनेको थियो । यो सम्झौता देशको हितका लागि हो । अमेरिकाले जबरजस्ती दिएको होइन, नेपालले मागेको हो ।”

एमसीसी संसद्‌बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको भनाइ छ । “अमेरिकी सेना आउँछ, यो सैनिक सम्झौता हुन्छ, आइपिएसअन्तर्गत हो भनेर आलोचना भएको छ । यो गलत कुरा हो । अमेरिकाका सेना आउँछ भनेर आपत्ति जनाइएको छ, यो कुरा पनि सत्य होइन,” उनले भने,“एमसीसी आइपिएसअन्तर्गत होइन । सन् २००४ मा एमसीसी पारित भएको हो । आइपिएस २०१८ मा आएको हो । एमसीसी र आइपिएस बिल्कुलै अलग हो । अर्को कुरा, यहाँ नेपालमा अमेरिकी कानुन लागु हुन्छ भनेर पनि आलोचना भएको छ, यो पनि सरासर झुट हो । यसमा अमेरिकी कानुन लागु हुँदैन । सम्झौतामा जे–जे व्यवस्था छ, नेपालको कानुनअनुसार लागु हुन्छ । ”

उनले अहिले आएर एमसीसी सम्झौता संशोधन गर्न नसकिने पनि बताए । बरु कुनै कुरा र विषयमा आशंका भए त्यसबारेमा स्पष्टीकरण माग्नुपर्ने उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...