काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई पानीमुनि गएपनि ठेगाना लगाउने चेतावनी दिएका छन् ।
भक्तपुरस्थित सूर्यविनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए ।
“यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगाना लगाइन्छ, लगाइन्छ,” उनले भने,“स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु । संसारभरिका ज्योतिषिलाई साेध्यो भने पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु ।”
अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभइ जनताको काम गर्न जान चाहेको बताए ।
रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने,“नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामीविरुद्ध षड्यन्त्र गरिरहेका छन् ।” गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे । उनले भने,“अब सर्वोच्च अदालतले होइन, जनअदालतले फैसला गर्छ त्यसको तयारी गर्नुस् ।”
सरकार जिउँदो देखिए पनि चटपट पनि नगरेको ओलीले टिप्पणी गरे । “वर्तमान सरकार चलिरहेको छैन । यो सरकारले काम गरिरहेको छैन । सरकार जिउँदै छ तर सरकार चटपटाउँदैन अलि चटपटायो भने उपद्रो गर्छ,” उनले भने,“हामी सरकारमा हुँदा यो गठबन्धनले कुप्रचार गरेर हैरान पार्थ्यो । अहिले आन्तरिक किचलो मै रुमलिएकाे छ ।”