चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

375

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा संघीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन् ।

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका हुन् ।

उनले विसं २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो भन्दै यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भइ आज लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गराए ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासन अन्त्य भइ जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नका लागि २००७ मा आजकै दिन प्रजातन्त्रको घोषणा भएका उल्लेख गर्दै आजका दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरुको मौलिक हकअधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रुपमा इतिहासमा स्मरणीय भएको उल्लेख गरे ।

“वास्तवमै हामी आज स्वतन्त्र देशका रुपमा सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरुपमा मुलुकले ठुलो फड्को मारेको छ । यसका लागि विसं २००७ को राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठुलो भूमिका रहेको छ,” उनले भने,“आज हामी जेजस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, जुनस्तरको नागरिक हकअधिकारको उपभोग गर्न पाउने स्थितिमा छौँ । राज्यको सबै तह र संरचनामा आमनागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै सात सालको क्रान्तिको जगमा उभिएर भएको हो ।”

उनले सात सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको र यसलाई अब हामी सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...