काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन ७ लाई नेपालको इतिहासमा नयाँ युगको प्रारम्भ बिन्दुको रुपमा स्मरण गर्नुपर्ने बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै ओलीले जहानिया राणा शासनको विरुद्ध ४ सहिदको बलिदानीले नेपाललाई अन्धकारबाट उज्याले युगमा अघि बढाएको उल्लेख गरेका छन् । शुभकामना सन्देशमा अध्यक्ष ओलीले नेपालीहरुले फागुन ७ लाई नयाँ युगको आरम्भ बिन्दुको रुपमा स्मरण गर्नुपर्ने बताए ।
सहिदको बलिदानीबाट प्राप्त लोकतन्त्र र राजनीतिक स्वातन्त्रताको उपयोग गर्दै एमालेले सरकारमा हुँदा जनहितका थुप्रै काम सुरु गरेको ओलीको शुभकामना सन्देशमा उल्लेख छ । उनले गरिबीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर देशलाई अघि बढाउन सुरु गरेको बताए ।
लोकतन्त्रको जगमा ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न प्रयत्नरत भएकै बेला संविधानको गलत व्याख्याबाट एमालेलाई सरकारबाट हटाएको ओलीको भनाइ छ ।
“नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामाथ्र्यको सदुपयोग गरेको थियो,” उनले भनेका छन्,“संवैधानिक प्रबन्धको गलत व्यख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याइएपछि अबरुद्ध हुन पुगेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौँ ।”