काठमाडौँ । सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब २ अरब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले राष्ट्रिय विमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कर्णेलको राजीनामा स्वीकृत गरेको छ भने नवीकरणीय उर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसुची १ हेरफेर गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सरकारका प्रवक्ता कार्कीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ति नगरपालिका ६ स्थित अनिता पशुपन्छी कृषी फार्मलाई केन्द्र मानि उल्लेखित स्थानको वरिपरिको १०० मिटर सम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधि सम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गरेको छ । त्यस्तै, श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।
बैठकले औषधि दर्ता चौथो संशोधन नियमावली २०७८ र नेपाल मेडिकल काउन्सिल पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।