शशांक कोइरालाले भने– प्रधानमन्त्रीसँग दुईवटा विकल्प छन्, एमसीसी त्याग्ने कि गठबन्धन ?

401

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् डा.शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई वटा विकल्प रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै उनले देउवासँग एमसीसी पास गराउने वा सत्ता जोगाउने विकल्प मात्रै रहेको बताए ।

एमसीसी पास भए अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको उनले दाबी गरे ।

“विकल्प उहाँले नै रोज्नुपर्ने हो, कुनचाहिँ रोज्नुहुन्छ । एमसीसी पारित गर्दा गठबन्धन टुट्न सक्ने सम्भावना देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसीलाई छोड्नुपर्‍यो । दुईवटामध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ,” उनले भने ।

कोइरालाले नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने बताए । उनले एमसीसी सम्झौता अनुमोदन गरेमा अमेरिकी सेना यहाँ आउँछन् भन्ने जस्ता कुराहरु हल्ला मात्रै भएको बताए ।

“एमसीसी नेपालका लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेका छन् । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् भन्ने जस्ता धेरै कुराहरु छन् । ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ त्यसमा त कोही सेना परिचालन भएको छैन,” उनले भने ।

कोइरालाले एमसीसी पारित गरौँ भन्ने आफ्नो सल्लाह रहेको बताए । “किनभने ५०० मिलियन डलर भनेको धेरै हो । ट्रान्समिसन लाइनदेखि बाटोसम्मका लागि यति ठुलो अनुदान हत्तपत्त अरु कसैले दिँदैन । यसका पछाडि कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...