एमसीसीबारे सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ सुरु

307

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक’ बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बेलुका बसेको बैठक बिना निष्कर्ष टुंगिएकाले संसद् बैठकअघि आज फेरि छलफल हुन लागेको हो ।

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गरेका थिए । उनले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गरेका छन् । तर, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् ।

अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ ।

प्रधानमन्त्री देउवाले गत बुधबार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को आग्रहमा आजसम्मका लागि स्थगित गरिएको थियो ।

सत्ता गठबन्धनको बैठकअघि गठबन्धनमा आबद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को निवास खुमलटारमा बसेको थियो । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता छिटोभन्दा छिटो संसदबाट अनुमोदन गराउन चाहे पनि सत्तारुढ माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले सहमति दिएका छैनन् ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । एकीकृत समाजवादी र जसपा पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने अडानमा छ ।

यद्यपि, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसीमा सहमति दिएरै भए पनि गठबन्धन जोगाउन निकटका नेताहरुले दबाब दिएका छन् । र, जसपाभित्र पनि एमसीसीबारे नेताहरुको एकमत छैन ।

Share This:
सम्बन्धित खबर
Loading...