एमसीसीबारे निर्णय गर्न गठबन्धनको बैठक आज पनि बस्दै

285

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।

बिहान १० बजेपछि बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटाउनेलगायत विषयमा छलफल हुने छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बेलुका बसेको बैठक बिना निष्कर्ष टुंगिएकाले संसद् बैठकअघि आज फेरि छलफल हुन लागेको हो ।

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गरेका थिए । उनले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गरेका छन् । तर, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् ।

अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ ।

प्रधानमन्त्री देउवाले गत बुधबार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को आग्रहमा आजसम्मका लागि स्थगित गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...