हाम्रो जोड गठबन्धन कसरी जोगाउने भन्नेमै छ : प्रचण्ड

485

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्ता गठबन्धन जोगाउदै अमेरिकी सहयोग एमसीसी सम्झौतालाई निकास दिने प्रयास भइरहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का नेता तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँगको भेटपछि अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । आज साँझ ५ बजे बस्ने सत्ता गठबन्धनको निर्णायक बैठक बस्न लागेका र त्यहाँ गम्भीर छलफल हुने उनको भनाइ छ ।

“हामी पाँच दलको सत्ता गठबन्धनलाई कसरी जोगाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्ने केन्द्रित छौँ । आज एउटा निचोड निस्कन्छ, हाम्रो जोड चाहिँ गठबन्धन बचाउनेमै छ,” उनले भने ।

सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच सहमति नहुँदा एमसीसी सम्झौता अन्योलमा परेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ ।

हिजो बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने भनिए पनि सर्वसहमतिबिना एमसीसी टेबल भए गठबन्धनबाट बाहिरिने प्रचण्डको अडानपछि गठबन्धनको बैठकमा छलफल गर्न लागिएको हो ।

सत्ता गठबन्धन दलको बैठक आज साँझ ५ बजे बस्दै छ । एमसीसीबारे साझा धारणा बनाउन र सहमति जुटाउन आज गठबन्धनको बैठक बस्न लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...