काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
एसीसीबारे आज गठबन्धनका दलबीच ‘निर्णायक’ वार्ता हुनुअघि देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँग नेपालले गरेको सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच आजै निर्णायक छलफल हुँदै छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिछाड्ने योजनामा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा माओवादी केन्द्रलगायत गठबन्धनमै रहेका दलले विरोध गरेपछि सफल हुन सकेनन् ।
यसबीच माओवादी केन्द्रले त एमसीसी जबर्जस्ती संसद्मा पेस गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टी (जसपा)समेत एमसीसी संशोधन नगरी संसद्मा पेस गर्न नहुने पक्षमा उभिएका छन् । गठबन्धनकै अर्का दल राष्ट्रिय जनमोर्चाले पहिलेदेखि नै एमसीसी खारेज हुनुपर्ने भनिरहेको छ ।
यसले गर्दा अहिले सत्ता गठबन्धनका पाँच दलमध्ये एमसीसी पास गरिहाल्नुपर्छ भन्ने पक्षमा कांग्रेस एक्लो देखिएको छ । यसैकारण प्रधानमन्त्री देउवाले आज गठबन्धनका दलसँग ‘निर्णायक’ छलफल गर्ने भएका हुन् ।