काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट भ्रातृ संगठनहरुको एमसीसीविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले भत्र्सना गरेको छ ।
शान्तिपूर्ण आन्दोलनलाई बिना कारण दमन गर्ने सरकारी कदमको हामी भत्र्सना गर्दछौँ, राप्रपा प्रवक्ता सगुनसुन्दर लावतीले भने । प्रदर्शनको दौरान बुधबार पक्राउ गरिएका विधार्थी नेताहरुको तत्काल रिहाइको पनि लावतीले माग गरे ।
अमेरिकी सहायता परियोजना एमसीसीको विरोधको क्रममा प्रहरीले राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का अध्यक्ष धनसुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ ।
विद्यार्थी संगठनका कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाई अध्यक्ष सुजन पुलामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका अध्यक्ष शाहीलगायत विधार्थी नेताहरुको रिहाइको माग गरेको छ । शान्तिपूर्ण आन्दोलनमा सरकारको दमनकारी भूमिकाको निन्दा गरेको छ ।