काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेर म्याद सकिएका भ्रातृ संगठनहरुको कार्यसमिति विघटन गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरुको तदर्थ कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।
नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल मुस्लिम संघदेखि शुभेच्छुक संस्थाहरुको तदर्थ कार्यसमिति भंग गरिएको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
पार्टीको विभिन्न तहको विभिन्न पदहरुमा निर्वाचित या मनोनित भ्रातृ शुभेच्छुक संस्थाको सभापति वा पदाधिकारीको पद कांग्रेसको विधानअनुसार स्वतः रिक्त भएकाले ती पदहरुमा पदपूर्ति गर्ने निर्णय भएको उनले बताए ।
केन्द्रको हकमा केन्द्रीय सभापतिले यथाशीघ्र परामर्श गरी पदपूर्ति गर्ने निर्णय गरेको उनको भनाइ छ । त्यस्तै, बैठकले फागुन मसान्तभित्र विभिन्न संघको तदर्थ समितिसमेत चयन गर्ने बैठकले निर्णय गरेको प्रवक्ता महत्तले बताए ।