एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर प्रचार गर्नु गलत : महत

404

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशराण महतले अमेरिकी सहयोग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गराउनुपर्ने बताएका छन् ।

डा.महतले एमसीसी पारित हुँदा रोजगारी बढ्ने, आर्थिक गतिविधि र लगानी बढ्ने धारणा राखे । संसदीय दलका नेता शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधिसभाका सांसद् नरहेका डा.महत संसदीय दलको बैठकमा सहभागी भएर एमसीसीबारे सांसद्लाई जानकारी गराएका हुन् ।

उनले एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानुनअनुसार सम्झौता गरिएको बताए । उनले बिआरआई र इन्डो प्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताए ।

“एमसीसी राष्ट्रको हितमा छ । यसलाई गलत चर्चा, गलत आलोचना गरेर, झुटको आलोचना गरेर भ्रमपूर्ण आलोचना गरेर यसलाई रोक्नु राष्ट्रको हितविपरीत हुन्छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्र र नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने देशसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन,” उनले भने,“यसमा गलत खालका आलोचनाहरु गरेका छन् । मिलिट्री सम्झौता हुन्छ, अमेरिकी सेना आउँछ भन्ने त्यो सरासर गलत हो । यो इन्डो प्यासिफिक रणनीतिअन्तर्गत पनि होइन , नेपालको कानुनविपरीत पनि छैन ।”

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गरेका नेता महतले एमसीसीबारे भएका आलोचनाबारे अर्थ मन्त्रालयले एमसीसीलाई पत्र पठाएर प्रश्न गरेको र एमसीसीले प्रष्ट जबाफ समेत दिइसकेकाले यसमा धेरै विभाजित हुनु आवश्यक नरहेको बताए ।

महतले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर सम्बन्ध बिगार्न नहुने पनि दाबी गरे । उनले भने,“यो राष्ट्रको हितमा छ । राष्ट्रको हितविपरीत हामीले निर्णय गर्नु हुँदैन ।”

बौद्धिक सम्पत्ति र लेखापरीक्षणको अधिकार नेपालसँगै रहेको उनको दाबी छ । एमसीसीले दिएको फागुन १६ गतेभित्रै नेपालमा अनुमोदन गराउनुपर्ने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...