काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसीसम्बन्धी सम्झौता टेबल हुनसक्ने बताएका छन् ।
नयाँ बानेश्वरमा जारी कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडुले भोलिको बैठकमा सो सम्झौता टेबल गर्न सकिने बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि एमसीसी सम्झौता टेबल गर्न सहमत रहेको उनको भनाइ छ । “उहाँहरुको सबैको सहमति खोजौँ भन्ने चाहना छ,” उनले भने ।
कांग्रेस संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्री डा.रामशरण महतले एमसीसी सम्झौता र त्यसले नेपालका लागि पुर्याउने फाइदाबारे जानकारी गराएका थिए ।
“एमसीसी नेपालको हितमा छ, अहिलेसम्म धेरै वटा देशहरुमा एमसीसी चलिरहेको छ । ती देशहरुमा न अमेरिकी सेना पुगेका छन्, न कुनै हस्तक्षेप भएको छ,” बैठकमा महतले भने,“हामीकहाँ मात्रै विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको छ ।”
बैठकमा महतले कांग्रेसले एमसीसीबारे फैलाइएका भ्रमहरु चिर्न सक्नुपर्ने बताएका थिए ।