एमसीसी संसद्मा लैजान कसैले रोक्न सक्दैन : पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन् ।
काठमाडौँको बसुन्धरास्थित दियोले फुडल्यान्डमा सोमबार तनहुँको भानु साहित्यिक उद्यान समितिले आयोजना गरेको कर्याक्रममा बोल्दै उनले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन् ।
“अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न । अब संसद्मा एमसीसीबारे छलफल हुन्छ । पास फेल जे हुनुपर्ने हो संसद्मै हुन्छ,” उनले भने ।
नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चाहेअनुरुप नै महाअभियोग दर्ता भएको जिकिर गरेका छन् ।
“प्रधानन्यायाधीश आफैँले उपयुक्त निकास दिन्छु भन्नुभएको थियो । मैले उहाँलाई त्यो बेला नै छिटो निकास दिँदा राम्रो हुन्छ भनेको थिएँ,” उनले भने,“तर, उहाँले निकास दिन चाहनुभएन । त्यो भनेको मलाई महाअभियोग लगाउ भन्नु हो । यसकारण उहाँको चाहनाअनुसार नै महाअभियोग दर्ता भएको हो ।”
उनले दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने ४ न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ल्याउने महाअभियोग संसद्ले अस्वीकार गर्नुपर्नेमा जोड दिए ।
२०५२ मा विघटिट प्रतिनिधिसभा पुनःस्थापना गरेको सर्वोच्चको फैसलाविरुद्ध तत्कालीन समयमा एमालेले प्रधानन्यायाधीशविरुद्ध ल्याएको महाअभियोगको प्रस्ताव संसद्ले अस्वीकार गरेको स्मरण गराए ।