महाअभियोगले गठबन्धन झन् बलियो हुन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउने उपयुक्त विकल्प महाअभियोग भएकाले दर्ता गरेको बताएका छन् ।
उनले जनकपुरमा जनयुद्ध दिवसको कार्यक्रमपछि सञ्चारकर्मीको प्रश्नमा महाअभियोगले गठबन्धन झन् बलियो हुने तर्क गरेका छन् ।
“महाअभियोग लगाएर भत्कने होइन बरु झन् बलियो हुन्छ,” महाअभियोगबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने । उनले न्यायालयको बेथिती र गतिरोध अन्तका लागि गठबन्धनमा सहमति गरेर महाअभियोग लगाइएको तर्क गरे ।
“केही समयदेखि निकै धेरै अन्योल, अराजकता र बेथिती अदालतमा देखा पर्यो । स्वतन्त्र न्यायलयको क्षेत्रमा यो देखिनु राज्य र जनताका लागि दुःखद कुरा नै थियो,” उनले भने,“बारका अधिवक्ता र स्वयम् न्यायाधीशहरु नै आन्दोलित हुने बडो विचित्रको स्थिति नेपालमा देखा पर्यो । गठबन्धनको चाहना सहज होस् भन्ने थियो । सहज निकासका लागि सोच्यौँ मात्रै होइन, त्यसका लागि पहल पनि गर्यौँ । गठबन्धनबाट अपिल सम्बन्धित पक्षलाई गर्यौँ ।”
अदालतमा देखिएको समस्याको मुख्य जिम्मेवार प्रधानन्यायाधीश जबरा भएको उनले बताए । बिदा बसेर वा सबैलाई विश्वासमा लिएर निकास दिनुपर्ने प्रधानन्यायाधीशले भए पनि जबराले अटेरी गरेपछि महाअभियोग आएको उनको भनाइ थियो ।
जनयुद्ध दिवसको कार्यक्रममा प्रचण्डले गठबन्धन भत्काउने षड्यन्त्र निरन्तर चलिरहेको बताए । “जेठ ५ देखि नै गठबन्धन तोड्ने षड्यन्त्र निरन्तर चलिरहेको छ,” उनले भने । १२ बुँदे समझदारी नरुचाएका, संविधान, लोकतान्त्रिक गणतन्त्र नरुचाएकारुले निरन्तर गठबन्धन तोड्ने षड्यन्त्र गरिरहेको बताए ।