अमेरिकाले दिएको धम्कीबाट एमसीसी चीनविरुद्ध रहेको प्रष्ट भयो : चित्रबहादुर केसी

391

काठमाडाैँ । राष्ट्रिय जनमोर्चाले एमसीसी पारित नगरे नेपाल नीतिमा पुनःविचार गर्ने भनी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई धम्की दिएकोप्रति आपत्ति जनाएको छ ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका नेताहरुलाई टेलिफोन गरेर धम्की दिनु कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।

“उक्त टेलिफोन सम्वाद कूटनीतिक मर्यादा र सीमाअन्तर्गतको नभएर त्यसलाई नाघेर अमेरिकाले नेपाललाई दिइएको धम्की नै हो । नेपालका विरुद्ध अमेरिकाको उक्त कार्यको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

गत बिहीबार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाब दिएका थिए । उनले एमसीसी पारित नभए चीनका कारण पारित नभएको ठान्ने पनि बताएका थिए ।

त्यसको विरोधमा केसीले भनेका छन्,“अमेरिकाको उक्त धम्कीबाट एमसीसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको छ । त्यसका साथै अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसीसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको छ ।”

कुनै पनि मुलुकले दिने सहायता, सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र रहेको बताउँदै पार्टीले आफ्नो मुलुक अहित हुने विकास परियोजनालाई अस्वीकार गर्दा त्यो विकास परियोजना लिन कुनै पनि मुलुकले नेपाल बाध्य पार्न वा धम्क्याउन नमिल्ने बताएका छन् ।

“अझ त्यसमा पनि एमसीसी परियोजनालाई एक्ल्याउने उद्देश्यले अमेरिकाले चीनका विरुद्ध निर्माण गरेको हिन्द प्रशान्त सैन्य रणनीतिक अंग हो,” विज्ञप्तिमा भनिएको छ,“नेपाल अमेरिकाको पक्ष लिएर चीनका विरुद्ध वा चीनको पक्ष लिएर अमेरिकाको धुरीमा संलग्न हुने मुलुक होइन । नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने असंलग्न परराष्ट्र नीति भएको मुलुक हो ।”

Share This:
सम्बन्धित खबर
Loading...