प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल, के–के भए कुराकानी ?

388

काठमाडौँ । सत्तागठबन्धनका तीन शीर्ष नेताबीच आज बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ । एमसीसी परियोजनाबारे सत्ता गठबन्धनका दलहरुले आ–आफ्नै अडान दोहोर्याएपछि बैठक बिना निष्कर्ष सकिएको हो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोत भन्छ,“अब ढिला नगरी एमसीसीलाई संसद्‌मा टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट छिनोफानो गरौँ ।”

तर, प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेको जनाइएको छ । एमसीसी संसद्‌मा टेबल गर्नअघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा रहेको थियो ।

जबाफमा प्रधानमन्त्रीले संसद्‌मा सबै दलले धारणा राख्न पाउने जिकिर गर्दै एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने आफ्नो कुरा दोहोर्याएका थिए ।

प्रधानमन्त्रीले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले यसरी जबरजस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ चेतावनी समेत दिएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री देउवाले सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनका बाबजुद आजको बैठकले कुनै ठोस निष्कर्ष भने निकाल्न सकेन ।

एमसीसीसम्बन्धी विषय जटिल भइरहेका बेला तीन शीर्ष नेताबीच छलफल भएको हो । कांग्रेस एमसीसीलाई संसद्‌मा छलफल गरेर अनुमोदन गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संशोधन गरेर अघि बढाउनुपर्ने पक्षमा छ ।

एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । एमसीसीका विषयमा विवाद हुँदा संसद् बैठकसमेत फागुन २ गतेसम्मका लागि स्थगित भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...