काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेका बताएका छन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा अध्यक्ष प्रचण्ड लागिपरेको बताएका हुन् ।
शनिबार काठमाडौँ महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याइँ गरिरहेको आरोपसमेत लगाए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हितविपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढ्नेतर्फ पनि सचेत गराए । उनले जनताको बीचमा फट्याइँ कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे ।
“राजनीतिक ढंगले अनेक खालका दूर्भाग्यपूर्ण विवादहरु देखिरहेका छौँ हामीहरु । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीको जिम्मेवार मान्छेहरुमा विकृति आयो भने समाजमा पनि विकृति बढ्छ । राजनीतिक पार्टीका नेता यता हेर्यो यतैका कुरा, उता हेर्यो उताका कुरा, ऊ पर हेर्यो परका कुरा गर्ने खालका भए भने त्यो फट्याइँबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ,” उनले भने ।
पोखरेलले सार्वजनिक सम्पत्ति अतिक्रमण हुन नदिन र त्यसको सदुपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यकम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए । त्यस अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधहरुलाई जनताको हितमा केन्द्रित भएर काम गर्न पनि निर्देशन दिए ।