एमसीसीबारे गठबन्धनमा सहमति नभए संसदीय प्रक्रियामार्फत् टुंग्याउ : शेखर कोइराला

413

काठमाडौँ । नेपाली कांग्रेसका नेताले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषयमा गम्भीर बन्नुपर्ने परिस्थिति बनेको बताएका छन् । उनले एमसीसीलाई सम्भव भएसम्म राजनीतिक दलहरुबीच सहमतिबाट, नभए सार्वभौम संसद्‌मा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठकमा धारणा राख्दै नेता कोइरालाले एमसीसीमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा नलैजाने भए यसले सरकार, पार्टी र संसद्को क्षमतामाथि नै प्रश्न खडा हुने बताएका छन् ।

“यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लैजान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्न तेर्सिने देख्दैछु,” उनले भने ।

कोइरालाले दलहरुको सहमतिबाटै एमसीसीलाई संसद्‌मा लैजान जोड दिनुपर्ने बताएका छन् ।

“एमसीसीलाई सम्भव भए राजनीतिक दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत् यथाशीघ्र निकास दिनुपर्छ,” कोइरालाले भने ।

नेता कोइलाराले एमसीसीबारे अब एउटा अमेरिकी अनुदान परियोजनाको रुपमा मात्रै नरहेको भन्दै यसबारे निकै गम्भीर बन्नुपर्ने परिस्थिति बनेको बताए ।

उनले वैशाखमा हुने स्थानीय तह निर्वाचनअघि नै बाँकी जिल्लाको अधिवेशन सकेर पार्टीलाई चलयमान बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

“वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गतेभित्र विधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गरौँ भन्नेमा जोड दिन चाहन्छु,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...