काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।
छलफलमा प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी अघि बढाउने तयारी गरिएको जानकारी गराएका थिए ।
प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरुको सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।
एमसीसीको विषयलाई लिएर अहिले सत्ता गठबन्धनमा विवाद बढेको छ ।
प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी केन्द्र र एकीकृत समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ ।