प्रचण्डलाई कोइरालाले भने– कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन्, चुनावी गठबन्धन हुँदैन

338

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटेर गठबन्धन हितकर नहुने सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान खुमलटार पुगेका थिए ।

समसामयिक राजनीतिक विषयमा झन्डै १ घन्टा छलफल गरेका प्रचण्ड र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायत विषयमा छलफल भएको थियो ।

प्रचण्ड निवास खुमलटारमा आज भएको भेटका क्रममा नेता कोइरालाले कम्युनिस्टले कांग्रेसलाई भोट दिन विश्वास आफूलाई नभएको बताए ।

“स्थानीय चुनावमा त गठबन्धनको कुरै नगरौँ । केन्द्रको चुनावमा पनि कांग्रेसलाई कम्युनिस्टले भोट हाल्दैनन् । चुनावी गठबन्धन हामी कसैको हितमा हुँदैन,” कोइरालाले प्रचण्डलाई भने ।

प्रचण्डसँगको भेटमा कोइरालाले संसद्लाई बन्धक बनाउन नहुने धारण राखेका थिए ।

“संसद्लाई बन्धक नबनाऊ, जे–जे गर्ने हो संसदबाटै छिनोफानो गरौँ,” कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।

बैठकमा एमसीसीबारे पनि छलफल भएको थियो । कोइरालाले सभामुखले संसद् सुचारु गरेर एमसीसी टेबुल गर्नु उपयुक्त हुने बताए । प्रचण्डले एमसीसीका कारण राजनीति गिजोलिँदै गएकोमा चिन्ता व्यक्त गर्दै संवादबाटै टुंगोमा पुग्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...