कार्यकाल नसकिँदै स्थानीय तहको चुनाव नगराउन लोसपाको ध्यानाकर्षण

197

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले स्थानीय तहका पदाधिकारीहरुको कार्यकाल नसकिँदै स्थानीय तहको चुनाव गराउन लागेकोप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।

लोसपा नेपाल मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनालले बुधबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको पदाधिकारीको पाँच वर्षे पदावधि संविधानको धारा २१५ को ६, २१६ को ६ र २२० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एक दिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावनाविपरीत हुने उल्लेख गरेका छन् ।

स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । पहिलो चरणमा २०७४ वैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते भएको थियो ।

वैशाख ३१ गते भएको पहिलो चरणको चुनाव संविधानअनुसार नै भइरहे पनि असार १४ गते भएको दोस्रो चरणको चुनावभन्दा अहिलेको चुनाव डेढ महिना अगाडि नै भइरहेको लोसपाको भनाइ छ ।

असोज २ गते भएको तेस्रो चरणको चुनावभन्दा अहिलेको चुनाव ६ महिना अगाडि नै भइरहेको छ । असोज २ गते निर्वाचित भएका पदाधिकारीको म्याद पाँच वर्ष पुग्न ६ महिना बाँकी नै रहँदा चुनाव हुनु न्याय संगत नभएको अध्यक्ष सोनालले बताए ।

यद्यपि, स्थानीय चुनाव घोषणा हुनु सकरात्मक रहे पनि संविधानअनुसार सबै चल्नुपर्ने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...