गठबन्धन सरकारले लोकतन्त्र विरोधी चरित्र देखायो : शंकर पोखरेल

244

काठमााडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन गठबन्धन सरकार अघि बढेर लोकतन्त्र विरोधी चरित्र देखाएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल सुनसरी शाखाले स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले २०६२÷६३ को आन्दोलनको विषेशता कुनै पनि सरकार जनप्रतिनिधिविहीन हुँदैन भन्ने रहेको तर गठबन्धन सरकार स्थानीय सरकारलाई प्रतिनिधिविहीन बनाउने गरी अघि बढेको बताए ।

“हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्ने सन्दर्भमा ३ तहको सरकारको परिकल्पना गरेका छौँ । आज स्थानीय तहलाई कमजोर पार्ने षड्यन्त्र सुरु भएको छ,” उनले भने,“स्थानीय तहलाई कमजोर पार्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्नु हो, नेपालको लोकतान्त्रिक आन्दोलनको विशेषतालाई कमजोर पार्नु हो भन्ने कुरालाई बुझ्नुपर्छ ।”

एमालेका बढ्दो शक्ति र लोकप्रियतालाई कमजोर बनाउन परमादेशको माध्यमबाट एमालेलाई सरकारबाट हटाउने काम भएको भन्दै पोखरेलले त्यसको पीाडा आज मुलुकले भोगिरहेको पनि बताए ।

“आज संसद संसद् जस्तो छैन, सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन, यस्तो किन भयो भने मुलुकलाई गलत बाटोमा लैजानुको परिणाम हो,” उनले भने,“जनताले जे म्यान्डेट दिएको छ, त्योभन्दा फरक ढंगले शासन गर्ने लोकतन्त्रमा प्रयास गर्छ भने संस्थाले विश्वासनीयता गुमाउँदो रहेछ । आज तीनै अंगमाथि जनताको भरोसा टुट्दै छ ।”

महासचिव पोखरेलले गठबन्धन सरकारले अर्थतन्त्र धाराशायी बनाएको आरोप समेत लगाए ।

“यो सरकारको पुँजीगत खर्च गर्ने क्षमता न्यून छ,” उनले भने,“मूल्यवृद्धिको सूचक उच्च छ । बैंकमा तरलता अभाव छ । बाहिर जाने मान्छे बढिरहेका छन् तर रेमिट्यान्स घटिरहेको छ । कि यस्तो भइरहेको आज पारदर्शीताको अभाव छ । मुलुकमा हुन्डी कारोबारी सक्रिय हुन थालेका छन् । अवैधानिक क्रियाकलापले प्रशय पाइरहेका छन् ।”

सरकाको संचित कोषमा अहिले ६ महिनालाई धान्ने पैसासमेत नभएको बताउँदै पोखरेलले एमाले सरकार हुँदा भने १४ महिनाका लागि प्रयाप्त पैसा भएको दाबी गरे ।

सरकारको गलत नीतिका कारणले यो सबै भइरहेको भन्दै आयात निर्यात घटेको र व्यापार घाटा बढेको दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...