पाँच दलीय गठबन्धन एमालेलाई समाप्त गर्ने विशाक्त उद्देश्यले बनेको हो : ईश्वर पोखरेल

254

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेनडासँग कुनै मतलब नभएको बताएका छन् ।

प्रेस चौतारीको २४औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले संविधान, मूल्यमान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको बताए ।

नेता पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्ने मात्रै भएको आरोप लगाए ।

“यो गठबन्धन एकातिर छ, अर्कोतिर नेकपा (एमाले) उभिएको छ । त्यसैले यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विशाक्त उद्देश्यले बनेको छ,” उनले भने,“हामीले संघीयताको बलियो कार्यान्वयन चाहन्छौँ । तर, यो गठबन्धनमा संघीयताको ‘स’समेत सुन्न नचाहनेहरु पनि छन्, त्यही फेरि अहिले भएका सात प्रदेशले पुगेन भनेर टोकाटोक गर्ने पनि त्यही छन् । यहीबाट प्रष्ट हुन्छ कि यो गठबन्धन कुनै मूल्य मान्यतामा आधारित छैन, एमालेको विरोध गर्ने मात्रै हो ।”

नेता पोखरेले ‘श्रीमानले बनाएको सरकार’ले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी समेत दिए ।

“श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लङ्घन गर्ने धृष्टता गर्दै छ,” उनले भने,“कानुनलाई उल्लङ्घन गर्ने धृष्टता गर्दै छ । यदि यो स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समयभित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापीरुपमा जनपरिचालन हुन्छ ।”

गठबन्धन सरकारले कालापानी, लिपुलेकलगायतलाई हाम्रो हो भन्न नसकेर समस्याको रुपमा प्रस्तुत गरेको उनले आरोप लगाए ।

नेता पोखरेलले एमालेनिकट पत्रकारहरु ‘टु इन वान’ हुनुपर्ने बताए । “तपाईंहरु पत्रकार हो, त्यसैले तपाईंहरुसँग पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य छ,” उनले भने,“तबमात्रै तपाईहरुले नेकपा एमालेलाई समर्थन गरेको अर्थपूर्ण हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...