कांग्रेसले सभामुख सापकोटालाई महाभियोग लगाए एमालेले साथ दिन्छ : रायमाझी

239

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताए । “यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौँ । उहाँ विधिसम्मत रुपमा चल्नुभएन,” उनले भने ।

यद्यपि आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनले बताए ।

उनले भने, “हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौँ । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौँ ।”

उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे । सचिव रायमाझीले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गरे । उनले एमाले आफ्नो एजेन्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमत र शानदार जित हासिल गर्ने उनको भनाइ थियो ।

“एमाले आफ्ना एजेन्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ,” उनले भने,“विगतमा हामी सरकारको नेतृत्वमा हुँदा हामीले गरेका काम लिएर जनतामा जान्छौँ । एमाले भनेको पुरानो होइन, नेकपापछिको एमाले हो । अहिलेको एमाले परिमार्जित नेकपा हो । एमाले नेकपाकै निरन्तरतामा छ । हामी पनि त्यहाँ छौँ । हामी पार्टी एकताकै निरन्तरतामा छौँ ।”

उनले पराजित मनस्थितिका कारण सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोपसमेत लगाए । “स्थानीय तहको निर्वाचन त हुनुपर्छ । निर्वाचन गर्नैपर्छ नि, कानुन र संविधान मान्ने हो भन् निर्वाचन समयमै गराउनुपर्छ । स्थानीय तहको निर्वाचन सार्न यो गठबन्धनका नेताहरुले मरिहत्ते गरिरहेका थिए । तर, जनस्तरबाट चर्को दबाब आएपछि र विरोध भएपछि उनीहरु हच्किएका छन् । तत्काल निर्वाचनको मिति घोषणा हुनुपर्छ,” उनले भने,“उनीहरुले चुनाव जित्ने भएको भए निर्वाचन सार्न खोज्दैन थिए । हार्ने मनस्थिति देखेर नै उनीहरुले गठबन्धन गरेर चुनाव सार्न खोजेका थिए । संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।”

उनले आफूहरुले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे । “हामीले पाँच दलीय गठबन्धन तोड्नुपर्छ भनेका छैनौँ । हामीलाई चाहिएको छ– चुनाव । हामी चुनाव चाहन्छौँ,” उनले भने ।

रायमाझीले अमेरिकी सहयोग परियोजना एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने, “हामी अहिले प्रतिपक्षमा छौँ । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुंगो लगाओस् । संसद्मा टेबुल भएपछि हामी सोच्छौँ । अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...