एमाले सचिवालय बैठक : स्थानीय निर्वाचनको तयारीमा लाग्न निर्देशन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।
स्थानीय निर्वाचनमा केन्द्रित भइ केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै सचिवालय बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ ।
यस्तै, केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन पनि बैठकले गरेको छ ।