काठमाडौँ । नेकपा (एमाले) नेता डा.भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जबाफ दिएका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई–रावल आरोप प्रत्यारोप चलेको छ । रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पिएचडीमाथि नै प्रश्न उठाएका थिए ।
बाबुरामले लेखेका थिए, ‘यी कण भीम रावलले पिएचडी गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन् । विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पिएचडी हुन् ?’
त्यसको जबाफ दिँदै मंगलबार रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन । पिएचडी नक्कली सीमापारि हुने गरेको सधैँ चर्चा हुन्छ, त्रिविविबाट पिएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’
स्मरण रहोस् बाबुरामले भारतको जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।
याे पनि हेर्नुस्