मिनवा म्यानपावरमा श्रम मन्त्रालयको मार्सल टोलीद्वारा ‘स्टिङ अप्रेसन’, सञ्चालकसहित ३ जना पक्राउ

282

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन भएको कल सेन्टरमा ठगीको सूचनापछि मार्सल टोलीले स्टिङ अप्रेसन गरेको छ ।

काठमाडौँको सिनामंगलमा रहेको मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिएर ठगी गर्दै आएको सूचनापछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमराज राईसहित ३ जनालाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्ताफासँग १ लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट मोहम्मद इसाक मियाँलाई रकमसहित पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको मार्सल टोलीका संयोजक विष्णु लामिछानेले जानकारी दिए ।

सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्कालै स्टिङ अप्रेसन गरिने पनि लामिछानेले बताए ।

गत आइतबारदेखि सुरु भएको कल सेन्टरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगको पहिलो फोनमा गुनासोमार्फत् म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको गुनासो गरेका थिए ।

मन्त्री श्रेष्ठले धेरै पैसा लिने म्यानपावरका बारेमा कल सेन्टरमा जानकारी गराउन आग्रह गरेका थिए । वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने मन्त्री श्रेष्ठले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...