स्थानीय चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियूले गर्यो मन्त्री क्वाटर अगाडि प्रदर्शन
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले समयमै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
२०७९ जेठको पहिलो हप्ता स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल मिति घोषणा गर्न माग गर्दै मंगलबार पुल्चोस्थित मन्त्री क्वाटर अगाडि अनेरास्ववियूले प्रदर्शन गरेको हो ।
उनीहरुले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैनलगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझन्डा समेत देखाएका छन् ।
सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर, सरकारले अहिलेसम्म चुनावको मिति भने तय गरेको छैन ।
स्थानीय तहमा बहालवाला जनप्रतिनिधिहरुको पदावधि जेठ ५ गते समाप्त हुँदै छ । निर्वाचको तयारीका लागि १२० दिन आवश्यक पर्ने भएकाले सरकारलाई निर्वाचन आयोग र प्रमुख प्रतिपक्ष दल एमालेले दबाब दिँदै आएको छ । तर, सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमा रहेको छ ।
वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ ।