स्थानीय तहको चुनावको मिति छिटोभन्दा छिटो घोषणा हुनुपर्छ : पद्मा अर्याल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई आग्रह गरेकी छन् ।
सोमबार नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले स्थानीय तहको निर्वाचनको मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताएकी हुन् । उनले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने बताइन् ।
“स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ । त्यही पनि विगतदेखि हामीले भनी नै आएका छौँ, स्थानीय निर्वाचन वैशाखको महिनाभित्र सक्नुपर्छ,” उनले भनिन्,“त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने नेकपा (एमाले)को कुरा हो । हामी त्यो पक्षमा बारम्बार बोलिरहेका छौँ । र, पर्सीको बैठकबाट पनि हामीले त्यो विषयलाई मुख्य रुपमा अगाडि बढाउँछौँ ।
पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन् ।