काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने षड्यन्त्रमा पाँच दलीय गठबन्धन लागेको आरोप लगाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले यो सम्झौता नेपाल र नेपालीको स्वभिमान, स्वाधीनता र हितविपरीत रहेको पनि बताएका छन् ।
“यस्ता विषयमा विवेकको आँखा खेलेर हेर्न आग्रह गर्छु,” उनले भने,“मातृभूमिको स्वाधीन भविष्यका लागि फेरि गहिरो गरी अध्ययन गर्न आग्रह गर्दछु ।”
एमसीसी यथास्थितिमा अनुमोदन गर्न नहुने कुरा कुनै पूर्वाग्रहबाट नआएको पनि उनले बताएका छन् । सम्झौता राष्ट्र हितविपरीत भएकाले त्यसको समीक्षा हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारे । एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा जानकारी नगराइएको पनि स्पष्ट पारे ।
“जुन दिन थाहा पाएँ, मैले गहन अध्ययन गरेर बोलेको छु । हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौँ, बाबुरामले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो । अहिले त्यही भएर छिटो पास गराउनुपर्छ भनेर कराउनुभएको छ । वास्तवमा एमसीसीको बारेमा प्रतिनिधिसभामा पेस भएपछि मात्रै मैले थापा पाएको हुँ,” उनले भने ।
नेपालको प्रशारण लाइन र त्यसले चर्चेको जग्गामा असीमित समयसम्म एमसीसीको अधिकार हुने भएकाले यसलाई पाँच वर्षे परियोजना भन्न नसकिने पनि उनले बताए ।
एमसीसीबारेमा नेपाल सरकारमा निर्देशन अधिकारसम्म नहुने गरी सम्झौताको ड्राफ्ट तयार भएको पनि उनले जिकिर गरेका छन् ।
“के कुनै राष्ट्रको सहायता लिन राष्ट्रको स्वतन्त्रता, स्वाधीनता स्वाभिमान र हितलाई बन्धकी राख्न मिल्छ र ?” उनले प्रश्न गरेका छन् ।
सच्चा राष्ट्रवादी आँखाले हेर्ने हो भने एमसीसी राष्ट्रघाती भएको रावलले बताएका छन् । त्यसैले यसविरुद्ध लाग्न आवश्यक रहेको उनले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँगको भेटमा यो उमेरमा कसरी राष्ट्रघाती काम गर्न सक्छु ? भनेको कुरा पनि रावलले स्मरण गराए ।
Bhim Rawal