प्रचण्ड र नेपाल कांग्रेसमा प्रवेश गरेर एमालेसँग चुनाव लड्न आए हुन्छ : बस्नेत

244

चितवन । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेर चुनाव लड्न चुनौती दिएका छन् ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिस्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका हुन् ।

“देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ,” उनले भने,“ठुला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।”

उनले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयम् सरकारले गरिरहेको बताए ।

वैशाख २१ गते रिक्त हुने स्थानीय तहको जनप्रतिनिधिका लागि चैत वा वैशाखभित्रै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ ।

“वैशाख २१ पछि स्थानीय तहको निर्वाचनलाई लानु हुँदैन । निर्वाचन पछि सार्ने कुराले देश द्वन्द्वमा फस्छ,” उनले भने । सरकारले स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा नगरे एमाले आन्दोलनमा जान बाध्य हुने उनको भनाइ थियो ।

संविधानको व्याख्या गर्ने अधिकार अदालतलाई मात्रै रहेको उनले जिकिर गरेका छन् । “सत्ता गठबन्धन साथीहरुलाई निर्वाचनमा आफू हारिने आँकलन भएकाले सार्न खोजिएको हो,” उनले भने । समयमा स्थानीय तहको निर्वाचन हुन नसकेमा अदालतको विषय बन्ने उनले बताए ।

स्थानीय तहको निर्वाचन समेत दुई चरणमा गरेको स्मरण गर्दै उनले अहिले तीन तहको निर्वाचन एकैपटक गर्ने भन्ने गरी गरिएको तर्क अव्यवहारिक रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...