स्थानीय तहको निर्वाचनबारे सत्ता गठबन्धनले भोलि निर्णय लिने
काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्बन्धमा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक भोलि बस्ने भएको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्ध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।
स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्य योजनासहित निर्वाचनले सरकारलाई सिफारिस गरिसकेको छ । आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो नदेखाएपछि विभिन्न आशंकासहितको टिकाटिप्पणी हुँदै आएको छ ।
गठबन्धनका केही घटनकले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्न सरकारलाई दबाब दिएको चर्चा पनि चल्दै आएको छ ।
शुक्रबार प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफलमा चुनाव सार्ने विषयमा बाहिर हुँदै आएको आलोचनाका बारेमा चर्चा भएको बताइएको छ । यस्तै, स्थानीय तहको निर्वाचनका लागि देखा परेको भनिएको कानुनी जटिलता र लामो समयदेखि संसद् चल्न नसकेको विषयमा पनि तीन नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।
तीन नेताबीच भएको छलफलले गठबन्धनकै बैठक राखेर छलफल गरी आवश्यक निष्कर्ष निकाल्नुपर्ने ठहर गर्दै शनिबारका लागि गठबन्धनको बैठक बोलाइएको हो ।