काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्ने भएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठब बस्न लागेको काठमाडौँ जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । बैठक अपरान्ह बस्ने छ ।
यसअघि माघ ६ गते बसेको ३ वटै प्रजिअको बैठकले लागु गरेको आदेशहरुको समीक्षा हुने उनले बताए । “बैठकमा यसअघि जारी गरेको आदेशको प्रभाव कस्तो रह्यो । अब कुन आदेशलाई निरन्तरता दिने कुन खोल्ने भन्ने विषयमा छलफल गर्छौँ,” उनले भने ।
हाल जारी सार्वजनिक तथा निजी यातायातमा जोरविजोर प्रणाली प्रभावकारी नभएको र यसले सवारी साधनमा झन भीडभाड बढेको र यसले जोखिम समेत बढेको यातायात व्यवसायीको गुनासो छ ।