काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सत्तारुढ पाँच दलीय गठबन्धन संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
निर्वाचन आयोगले वैशाख महिनाभित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक–पटक सरकारको ध्यान आकृष्ट गरिरहेक बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको उनको आरोप छ ।
“यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लिन छन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ ।”
आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने उनले उल्लेख गरेका छन् ।
“आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन,” उनले भनेका छन्,“लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।”