ओलीलाई बारम्बार ‘हिटलर’सँग तुलना गरेपछि भट्टराईविरुद्ध जंगिए बास्कोटा

244

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई बारम्बार हिटलरको संज्ञा दिएपछि नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले आक्रोश पोखेका छन् ।

ओलीका कट्टर आलोचक डा.भट्टराईले आज बिहान मात्रै पनि एमालेमा हिटलर प्रवृति देखिएको बताएका थिए ।

“बिना कारण ६ महिनादेखि संसद् अवरूद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्। नबिर्सौँ हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो,” भट्टराईले सामाजिक सञ्जालमा खेलेका थिए ।

यसैको जबाफमा पूर्वमन्त्रीसमेत रहेको एमाले नेता बास्कोटाले रोल्पाको हारजंगमा ८ जना नागरिकलाई घरभित्र थुनेर जलाएर मारेको र ४ वर्षीया बालिका काजोल खातुनलाई बसभित्र जलाएर मारेको भन्दै बाबुराममाथि कटाक्ष गरेका छन् ।

बास्कोटाले डा.भट्टराईले एमालेलाई बारम्बार हिटलरसँग तुलना गर्न खोज्नुको अर्थ माग्दै हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता नरहेको बताएका छन् ।

डा.भट्टराई नेकपा माओवादीको नेतृत्वमा १० वर्षसम्म सञ्चालन भएको सशस्त्र विद्रोहका शीर्ष नेतामध्येका एक हुन् ।

“हारजंगमा ८ जना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने, चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन,” उनले भने ।

यतिले पनि चित्त नबुझेर बास्कोटले भट्टराईविरुद्ध थप आक्रोश व्यक्त गरेका छन् ।

अगाडि लेखेका छन्,“ अझ थप्छु– सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाइ हुन् । रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन ।विदेशी एजेन्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लदैन ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गत बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा गौर नरसंहार दोहोरिन सक्ने र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत मारिन सक्ने चेतावनी दिएपछि अहिले उनको चौतर्फी आलोचना भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...