संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्छ : आनन्द पोखरेल

230

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोखरेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी गर्न आग्रह गरेका छन् ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा पोखरेलले संविधान र कानुनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत पनि गराए । उहाले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए ।

“ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन । अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ । यो आशंका मेटाउने गरी पाँच दलीय गठबन्धनले जबाफ दिनुपर्छ । खासगरी सरकारको नेतृत्व गरेकाले शेरबहादुर देउवाले जबाफ दिनुपर्छ । म भन्न चाहन्छु तपाईं किन निर्वाचनका लागि ढिलासुस्ती गर्दै हुनुहुन्छ ?,” उनले भने ।

पोखरेलले आफ्नो पार्टी चुनावको पक्षमा रहेकाले तत्काल निर्वाचन गराउने गरी वातावरण बनाउनका लागि सरकारलाई दबाब दिने पनि जानकारी दिए । निर्वाचन आयोगले चुनावको मिति पनि तय गरिसकेको उल्लेख गर्दै त्यही मितिमा निर्वाचन गराउन सरकारसमक्ष उनको आग्रह थियो । संघीयता कार्यान्वयनका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने र समयमै निर्वाचन हुनु झनै अपरिहार्य भएको पोखरेलको भनाइ थियो ।

“चुनाव अपरिहार्य छ, त्यसैले निर्वाचन तत्कालै गर्नुपर्छ । चुनावमा कसले जित्छ भनेर आँकलन नगरौँ । लोकतन्त्रलाई वयस्क बनाउनका लागि चुनाव आवश्यक छ । निर्वाचन हुँदैन कि भन्ने प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ,” उनले भने ।

कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले अझैपनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने उनले बताए ।

उनले एमाले राष्ट्रियतका लागि अनि संविधान कार्यान्वयनका लागि लडेको पार्टी भएको उल्लेख गरे । उनले एमाले जनताले रुचाएको लोकप्रिय पार्टी भएको पनि सुनाए । सरकारले चुनाव नगर्ने छाँटकाँट देखाएको भन्दै चुनाव नगरे आफूहरु सडक संघर्षमा जान बाध्य हुने पनि उनले चेतावनी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...