वैशाखमा स्थानीय चुनाव गर्न सत्ता गठबन्धन सहमत

274

काठमाडौँ । सत्तारुढ गठबन्धनका दलहरु आउँदो वैशाखमा स्थानीय तह निर्वाचन गर्न सहमत भएका छन् ।

स्थानीय तह निर्वाचनलाई लिएर गठबन्धनभित्र मतभिन्नता बढेको चर्चा भइरहेका बेला नेताहरुले वैशाखमा निर्वाचन गर्न सहमत भएको बताएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठमा यस्तो सहमति भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस विषयमा थप छलफल गर्न बिहीबार पुनः गठबन्धनको बैठक बस्ने उनले बताए ।

स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेठ ५ गते सकिँदै छ । त्यसअघि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ । तर, दलहरुमा तीनै तहको निर्वाचन एकैपटक गर्ने कि भन्ने बहस समेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको छ ।

आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकअघि समन्वय समितिको बैठक बसेर मिति तोक्न सिफारिस गर्ने र सिफारिसअनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोक्ने तयारी गरेको बुझिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...