प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम

298

जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । प्रदेश २ प्रदेशसभामा प्रदेशको राजधानी जनकपुर प्रस्तावमाथि भएको गोप्य मतदानका क्रममा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसद्हरू भने वीरगञ्जको अडानमा थिए ।

मत विभाजनपछि सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव निष्क्रिय भएको घोषणा गरे ।

बैठकमा वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव आएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...