काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद् सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचाउनका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“पहिलो कुरा त संविधान बचाउनका लागि यो सरकार र पाँच दलीय गठबन्धन सफल भयो । बलिदानीपूर्ण संघर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार सफल भएको छ, यो कुरा दुनियाँलाई थाहा छ । यो गठबन्धन बाध्यतावश बनेको हो । संविधान नै समाप्त हुने अवस्थामा, व्यवस्था पनि के हुने हो भनेर मान्छेले चिन्ता गर्ने अवस्थामा, त्यो बचाउनका लागि यो गठबन्धन बनेको हो । यो कुरा सबै जनतालाई थाहा छ ।”
उनले पाँच दलीय गठबन्धन बन्नु बाध्यता रहेको पनि उल्लेख गरे । उनले भने,“यो सरकार आएपछि संविधान बचेको छ । दुई तिहाइ प्राप्त नेकपाको सरकार बर्हिगमन भयो । संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरियो । प्रदेश सरकार छिन्नभिन्न र लथालिङ्ग भयो । कसको कारण यो हुन गयो ? कुरा छर्लङ भएको छ, म नाम लिन चाहन्नँ । मुख्य कुरा त देशको बागडोर सम्हाल्नेले नै यो सबै बिगारे ।”
उनले अहिले सदनमा अवरोध कायम रहेकोबारे पनि आक्रोश व्यक्त गरे । “बिना इस्यु सदन अवरोध छ । बालहठका लागि एमालेले अवरोध गर्यो । संवैधानिक व्यवस्था बचाउने काम यो सरकारले गरेको छ । संसद अवरोध गरेर कसैले जितेको छैन । संसद् खुल्नुपर्छ,” उनले भने ।