६ जनाको हत्या आरोप लागेका व्यक्तिलाई जिल्ला अदालतले दियो ५ मुद्दामा सफाइ

243

काठमाडौँ । कपिलवस्तु जिल्ला अदालतले ६ जनाको हत्याको आरोप लागेका एक प्रतिवादीलाई निर्दोष रहेको भन्दै सफाइ दिने फैसला सुनाएको छ । अदालतले एक व्यक्तिको हत्यामा मात्र आरोपीलाई दोषी ठहर गरेको छ ।

आइतबार र सोमबार पक्ष–विपक्षका कानुन व्यवसायीको पैरवीपछि कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले उनलाई ५ मुद्दामा सफाइ दिएको हो ।

नसिम अहमद खानविरुद्धका कर्तव्य ज्यान मुद्दामा एकैपटक जिल्ला अदालतले सफाइ दिएको हो । पूर्पक्षका लागि थुनामा रहेका उनलाई रिहा गर्नसमेत जिल्ला अदालतको फैसलामा भनिएको छ । २०६४ माघपछि ९÷१० वर्षयत भएका ६ वटा हत्याकाण्डमा उनको नाम जोडिएको थियो ।

मुद्दा सुनुवाइ चलिरहँदा दुवै दिन अदालत परिसरमा फैसला प्रभावित पार्ने र पार्न नदिने समूहको उल्लेख्य उपस्थिति थियो । २०६४ चैत ९ मा साविक हथिहवा गाविस–३ का शिवपूजन कुर्मीको हत्या भएको थियो । ओमप्रकाश चौधरीको जाहेरीमा दर्ता भएको मुद्दा २०७६ असार २२ मा मुल्तबीबाट जगाइएको थियो । ०६४ फागुन ६ मा साविक मोतीपुर गाविस–१ का भुवन भनिने प्रेम परियारको गोली हानी हत्या भएको थियो ।

शान्ति परियारको जाहेरीमा उक्त मुद्दा ०७५ असार २५ गते मुल्तबी जागाइ अदालती सुनुवाइ सुरु गरिएको थियो । ०६५ कात्तिक ७ मा साविक पिपरा गाविसका तत्कालीन सचिव राममिलनप्रसाद गुप्ता र ०६७ वैशाख १३ मा साविक पकडी गाविस–६ का राजेन्द्रप्रसाद तिवारीको हत्या भएको थियो । कुर्मी, परियार, गुप्ता र तिवारीको हत्याको आरोप खानमाथि लागेको थियो । उनीमाथि सरिता विकको हत्याको आरोप पनि लागेको थियो । उनले यीसँगै सरिता विकले जाहेरी दिएको कर्तव्य ज्यान मुद्दामा पनि उनले सफाइ पाएका छन् ।

गुप्ता र तिवारी हत्या मुद्दा गत साउन र भदौ अन्तिम साता मुल्तबी जगाएर प्रक्रिया अघि बढाइएको थियो । पारसनाथ कोहर जाहेरवाला रहेको कर्तव्य ज्यान मुद्दामा भने अदालतले खानलाई कसुरदार ठहर गरेको छ । तर, उनलाई अदालतले सजाय सुनाउन बाँकी छ । यो विवाद माओवादी नेताको हत्यासम्म पनि जोडिएको छ ।

तत्कालीन माओवादी नेता शिवपूजन चौधरीको हत्या अभियोग उनलाई पनि लागेको थियो । यही अभियोग लागेका सुखीनाथ पाण्डे (प्रितम) ०७६ पुस १७ मा अदालतमा हाजिर भइ १० लाख धरौटीमा छुटेका थिए । पछि उच्च अदालतले पूर्पक्षका लागि थुनामै राख्नु भनेपछि पाण्डे फरार भएका थिए ।

अहिले पाण्डेसँग जोडिएको मुद्दामा खानले सफाइ पाएका छन् ।

खानकी श्रीमती फौजिया नसिम खान एमालेबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सांसद् छिन् । खानले पनि ०६९ मा एमालेको पार्टी सदस्य लिएका थिए ।

खानलाई सिबिआईले ०७६ असार तेस्रो साता काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको थियो । अहिले उनी कारागारमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...