बाँके । चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन् । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण सुरु गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (ब्ल्यान्केट) र च्यवनप्रास वितरण गर्न सुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई कम्बल हस्तारण गरे।
त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो ब्ल्याङ्केटले मद्दत पुर्याउने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरी विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्यलगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताए ।
गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ शय्याको अस्पताल सञ्चालनको तयारी गरेकाले स्वास्थ्यसम्बन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने बताए ।
गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पूरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पूरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरी दुई हजार सात सय २८ जनालाई कम्बल र च्यवनप्रास वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।
मंगलबार १५० जनालाई उक्त कम्बल वितरण गरिएको छ । हिँड्डुल गर्न नसक्ने जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले सवारी साधनको प्रयोग गरी घरबाटै ल्याउने लैजाने समेत व्यवस्था गरेको छ ।