सरकार र गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेका छन् : ओली

220

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागिरहेको बताएका हुन् । सोमबार सङ्खुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौँ जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको र लुटमारमा लागि परेको दाबीसमेत गरे ।

उनले भने,“सरकार लुटपाटमा लागेको छ । चुनावतिर होइन ।”

स्थानीय निर्वाचनसम्बन्धी ऐनमा पहिलोपटक निर्वाचन भएको मितिको दुई महिना अगाडि नै नेतृत्व चयन हुनुपर्ने भएपनि त्यसको तयारी नभएको उनले बताए ।

ओलीले २०७४ सालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाखमा सम्पन्न भएकाले फागुनमा नै अहिले निर्वाचन हुनुपर्ने उल्लेख गरे ।

“स्थानीय निर्वाचनसम्बन्धी ऐनअनुसार पहिलोपटक जुन मितिमा हुन्छ । त्यसको दुई महिना अगाडि गरिसक्नुपर्छ । चरण चरणमा निर्वाचन भएपनि पहिलो चरणमा भएको मितिले दुई महिना अगाडि नै निर्वाचन हुनुपर्ने हो । २०७४ को निर्वाचनको समय मानेर दुई महिना अगाडि निर्वाचन गरिसक्नुपर्छ भनेको फागुनमा गर्ने हो । तर, फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन,” उनले भने ।

अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पुर्याउन खोजेको तर्क गरे । उनले ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे ।

अध्यक्ष ओलीले एमालेले काम गर्न नसकेर सरकारबाट बाहिरिएको नभइ दुनियाँ हल्लाउने गरी काम भएपछि ढालिएको बताए ।

विश्व बैंक, युनेस्को र डब्ल्युएचओले समेत आफू नेतृत्वको सरकारको प्रशंसा गरेको उल्लेख गर्दै उनले भने, “एमालेले नेतृृत्व गरेको सरकारका बेला नेपालको प्रशंसा विश्व बैंकले गरेको थियो । शिक्षाको क्षेत्रमा युनेस्कोले प्रशंसा गरेको थियो । स्वास्थ्य क्षेत्रमा डब्ल्युएचओले प्रशंसा गरेको थियो । स्रोत साधन नभए पनि कोभिडविरुद्ध लडेकोमा प्रशंसा गरेका थिए । तर, षड्यन्त्र गरेर केही तत्वले हामीलाई हटाए । षड्यन्त्र सधैँ काम लाग्दैन । षड्यन्त्रकारीहरु जनताका माझ जान डराइरहेका छन्,” उनले भने ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे । दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअलमलिइकन एमालेमा आउनुपर्ने उनको भनाइ थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गरे । देश र जनताको पक्षमा काम गर्ने पार्टी एमालेबाहेक अन्य कुनै हुन नसक्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...