माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्‍यो

280

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।

गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयानका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो । केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाललले जानकारी दिए ।

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । यही पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो ।

यसअघि यही पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेको थियो । माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...