ओली–देउवा वार्ता सकियो, के भयो कुरा ?

292

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान बालकोटमा जारी वार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली भेट्न आज बिहान १० बजेपछि ओलीकै निवास (बालकोट) पुगेका हुन् । दुई जनाबीचको कुराकानी केही बेरअछि सकिएको हो ।

दुई नेताबीच करिब एक घन्टा कुराकानी भएको छ ।

निरन्तर संसद् अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले निवासमै गएर उनलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो । जसअनुसार प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् ।

आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्यादेश ल्याएकोमा र त्यसमा सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै ओली निकै रुष्ट छन् ।

ओली निवासको प्रांगणमा उपस्थित पत्रकारले वार्ता कस्तो भयो भनेर सोध्दा एमाले अध्यक्ष ओलीले यत्ति मात्र भने,“राम्रो भयो ।”

खासमा दुवै नेताले वार्ताबारे विस्तृतमा जानकारी दिएनन् ।

प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद्को गतिरोध हटाउनेबारे छलफल भएको बताएको छ । तर, छलफलमा के सहमति भयो जानकारी आइसकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...