सिसिएमसी बैठक : कोरोना संक्रमण बढ्दै गए ‘स्मार्ट लकडाउन’

301

काठमाडौँ । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसीसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको हो ।

बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केही क्षेत्र मात्र बन्द गर्ने गरी स्मार्ट लकडाउनमा जाने विषयमा छलफल भएको बताए ।

उनले पहिलेजस्तो सबै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अब केही स्थान वा केही क्षेत्रमात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताए ।

भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परीक्षणलाई प्रभावकारी बनाउने, संक्रमितलाई राख्न आइसोलेसन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

त्यस्तै, स्थानीय तहमा नै कोरोना संक्रमितको उपचार गर्ने गरी स्थानीय निकायले व्यस्था गर्ने र त्यसको खर्च केन्द्र सरकारले व्यहोर्ने गरी तयारी गरिएको उनले बताए । बैठकमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिन र बुस्टर डोजको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको मन्त्री खतिवडाले जानकारी दिए ।

बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दुई साता अभियान नै चलाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री खतिवडाले कोरोना नियन्त्रण र उपचारका लागि सरकारले उचित व्यवस्थापन गरेको दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...