माओवादी केन्द्रको पदाधिकारी चयन अनिश्चित, केन्द्रीय समिति बैठक स्थगित

62

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) पदाधिकारी चयन अनिश्चित बनेको छ । अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न यही २५ गते बस्ने भनिएको माओवादी केन्द्र केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

भर्खरै काठमाडौँमा सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगत गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेटघाट बन्द गरेका छन् ।

ढकालका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राष्ट्रियसभा निर्वाचनपछि मात्र बस्ने सम्भावना छ ।

यही पुस ११–१८ मा सम्पन्न आठौँ महाधिवेशनले माओवादी केन्द्रको २४६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा प्रचण्डलाई निर्विरोध चयन गर्यो ।

अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

यसबारे निर्णय गर्न यही पुस २५ गते केन्द्रीय बैठक राख्ने निर्णय भएको थियो । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका क्रममा चीनमा रहेकाले उनी समेत सहभागी हुन भ्याउने गरी केन्द्रीय समितिको बैठक पुस २५ लाई निर्धारण गरिएको थियो ।

तर, त्यो बैठक स्थगित गरिएको हो । “२५ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको छ,” ढकालले भने,“कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको हो, अब अर्को बैठक माघ ८ गते बोलाउने कि भन्ने थियो । तर, राष्ट्रियसभा निर्वाचनले भ्याउने अवस्था छैन, त्यसपटि मात्र बैठक बस्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...