एमालेले काठमाडौँ जिल्ला अधिवेशनमा एक लाख जनता उतार्ने

67

काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुलपानीमा एक लाख जनता उतार्ने बताएका छन् ।

काठमाडौँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राईले नेकपा (एमाले) काठमाडौँ जिल्लाको छैठौँ अधिवेशनमा काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट १ लाख जनता सहभागी हुने दाबी गरेका छन् ।

काठमाडौँ जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्र ११ नगर र १३८ वटा वडाहरुबाट नेकपा एमालेलाई माया गर्ने काठमाडौँवासीहरुको सहभागिता रहने जानकारी दिँदै अध्यक्ष राईले वर्तमान सरकार पाँच दलीय गठबन्धन नभइ अदालतसहित ६ दलीय गठनबन्धन रहेको भन्दै कटाक्षसमेत गरेका थिए ।

एमालेमा काठमाडौँ जिल्लाका कुनै पनि राजनीतिक दलसँग खुला सभा गर्न सक्ने सामर्थ्य नदेखिएको भन्दै राईले काठमाडौँ जिल्लाका ११ नगर र १३८ वटा वडाहरुमा पौष २० गते जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी पनि दिए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौँ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरु नारायण सिलवाल, केशव स्थापित, रुपनारायण श्रेष्ठ, विद्यासुन्दर शाक्य, बिना श्रेष्ठ, सरिता न्यौपाने, शान्ति अधिकारीलगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...